मङ्गल, ०३ चैत २०८२

घर्तीभिर चिरेर खुल्यो तराई जोड्ने छोटो सडक, दिक्तेल–रेग्मीटार दूरी १७.५ किमि घट्यो

Main News Image

खोटाङ, असार १४खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको सीमामा पर्ने चर्चित घर्तीभिरको विशाल चट्टान फुटाएर नयाँ सडक निर्माण सम्पन्न गरिएको छ। यससँगै दिक्तेलबाट आहाले–रेग्मीटार हुँदै सगरमाथा राजमार्ग जोड्ने छोटो दूरीको सडक सञ्चालनका लागि मार्ग खुलेको छ।

कोशी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास कार्यालय, खोटाङमार्फत करिब रु १ करोड ७ लाख ७८ हजार लागतमा सडक निर्माण सम्पन्न भएको हो। चालु आर्थिक वर्ष २०८२/८३ मा विनियोजित रु २ करोड बजेटअन्तर्गत ठेक्का प्रक्रियाबाट कमला कन्स्ट्रक्सन एन्ड सप्लायर्स, उदयपुरले करिब रु १ करोड ७ लाखमा निर्माणको जिम्मा लिएको थियो।

वडाध्यक्ष खगेन्द्र राईका अनुसार ठेकेदार कम्पनीले करिब पाँच महिनाको अवधिमा स्काभेटरमा ब्रेकर प्रयोग गरी कठिन चट्टान फुटाएर सडकको ट्र्याक खोलेको हो। निर्माण सम्झौता २०८२ माघमा भएको थियो।

सडक निर्माण सम्पन्न भएपछि शनिबार कोशी प्रदेश सरकारका निवर्तमान भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले सडक उद्घाटन गर्नुभयो। उहाँले घर्तीभिर काटिएपछि महुरे–बुइपा–राजापानी–रेग्मीटार मार्गको तुलनामा नयाँ सडक बढी सिधा, छोटो र यात्रु तथा यातायात व्यवसायीका लागि उपयोगी भएको बताउनुभयो।

यसअघि घर्तीभिरका कारण यो मार्ग निर्माणको योजना पटक–पटक बने पनि कठिन पहरा भएकाले कार्यान्वयन हुन सकेको थिएन। प्रदेश सरकारले आवश्यक बजेट व्यवस्थापन गरेपछि अवरोध हटेको हो।

नयाँ सडक खुलेसँगै दिक्तेलबाट उदयपुरको गाईघाट हुँदै पूर्वी तराईका जिल्लामा पुग्ने दूरी उल्लेखनीय रूपमा घट्ने भएको छ। यसअघि महुरे–बुइपा–राजापानी–रेग्मीटार–फोक्सिङटार हुँदै यात्रा गर्नुपर्ने बाध्यता थियो भने अब आहाले–राजापानी हुँदै रेग्मीटार पुग्न सकिनेछ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईका अनुसार दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक पुरानो दिक्तेल–महुरे–बुइपा–राजापानी–रेग्मीटार मार्गभन्दा १७.५ किलोमिटर छोटो छ। नगरपालिकाले यसअघि आफ्नै बजेटबाट दुवैतर्फको कच्ची सडक निर्माण गरिसकेको र अब नियमित यातायात सञ्चालन गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो।

नियमित सवारी सञ्चालन भएपछि पूर्वी तराईसँगको आवागमन सहज हुनुका साथै खाद्यान्न, इन्धन, हार्डवेयरलगायत दैनिक उपभोग्य सामग्री ढुवानीमा समेत सहजता आउने अपेक्षा गरिएको छ।

यसैबीच, सोही सडकखण्डअन्तर्गत दिखुवाखोलामा करिब रु ३ करोड लागतमा मोटरेबल ट्रस पुल निर्माणको काम पनि अघि बढिरहेको छ। पुलका लागि आवश्यक स्टिल ट्रस निर्माणस्थलमा पुगिसकेको छ। वर्षायाममा पुल अभावका कारण करिब छ महिनासम्म यातायात अवरुद्ध हुने समस्या पुल निर्माणपछि अन्त्य हुने विश्वास गरिएको छ।

हाल निर्माणाधीन दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक पूर्ण रूपमा सञ्चालनमा आएपछि दिक्तेलबाट तराई जोड्ने सबैभन्दा छोटो र प्रभावकारी सडक मार्गका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

 

सम्बन्धित खबर

अनिश्चित विश्व अर्थतन्त्रबीच नेपालमा ३.८५ प्रतिशत आर्थिक वृद्धि अनुमान

काठमाडौं । विश्व अर्थतन्त्र सुस्त बन्दै गएको र विभिन्न क्षेत्रीय द्वन...

स्वास्थ्य मन्त्रालयमा झण्डै २ अर्ब बेरुजु, आर्थिक अनुशासनमा गम्भीर प्रश्न

महालेखापरीक्षकको कार्यालय को ६३औँ वार्षिक प्रतिवेदनले स्वास...

विद्यालयमा आर्थिक अनियमितताको आरोप, अभिभावकद्वारा छानबिनको माग

मोरङ, रमाइलो — मोरङ जिल्लाको रमाइलोस्थित श्री जनसेवा माध्यमिक व...

किसानलाई मल अभाव नहुने दाबी, सांसदको दबाबपछि खरिद प्रक्रिया तीव्र बनाउन निर्देशन

काठमाडौँ — प्रतिनिधि सभाअन्तर्गत कृषि,

आज देशभरको मौसम मुख्यतया सफा रहने

काठमाडौ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहनेछ । आज राति देशभर...

महत्वपूर्ण भवन जोगाउन नसकेका सेनाका कमाण्डर अनुसन्धानका लागि हेडक्वार्टरमा

काठमाडौँ । नेपाली सेनाले सिंहदरबार, संसद भवन, सर्वोच्च अदालतसहितका महत्वपूर्ण भवनहरू जोगाउन नसकिएको घटनामा अनुसन्धान गर्न त्यहाँ खटिएका सैनिक कमाण्डरलाई हेडक्वार्टर बोलाएको छ । सैनिक मुख्यालयले नेपाली सेनाका ३ जना कमाण्डरलाई अनुसन्धानका लागि झिकाएको...