समाजको विभेदका कारण एचआइभी सङ्क्रमित टाढाका अस्पतालमा उपचार गर्न बाध्य
टीकापुर (कैलाली), १४ असारः समाजमा अझै पनि एचआइभी सङ्क्रमितप्रति विभेदपूर्ण व्यवहार हुने भएकाले धेरै सङ्क्रमितले आफ्नो पहिचान लुकाउन टाढाका एआरटी (एन्टिरिट्रोभाइरल थेरापी) सेन्टरबाट उपचार सेवा लिने गरेका छन्।
लम्कीचुहा नगरपालिकाकी ७१ वर्षीया एक महिलाले आफ्नै नगरपालिकामा एआरटी सेवा उपलब्ध भए पनि पहिचान खुल्ने डरले नियमित रूपमा टीकापुर अस्पताल पुगेर औषधि लिने गरेको बताउनुभयो। उहाँका अनुसार श्रीमानको एचआइभीकै कारण मृत्यु भएको भए पनि आफूले रोग लागेको कुरा समाजबाट लुकाउँदै आउनुभएको छ। “थाहा पाए समाजले हेप्ने र सहयोगसमेत नगर्ने डर छ, त्यसैले आफन्तको घर जाँदैछु भनेर अस्पताल आउँछु,” उहाँले भन्नुभयो।
टीकापुर अस्पतालको एआरटी सेन्टरबाट हाल ५३१ जना एचआइभी सङ्क्रमितले सेवा लिइरहेका छन्। सेवाग्राहीमध्ये २०७ पुरुष, ३०४ महिला, ११ लैङ्गिक अल्पसङ्ख्यक र नौ जना बालबालिका छन्। अघिल्लो वर्षसम्म सेवाग्राहीको सङ्ख्या करिब ९०० पुगेको थियो। अन्य स्थानीय तहमा पनि एआरटी सेवा विस्तार भएपछि केही बिरामी आफ्नै क्षेत्रमा उपचार लिन थालेका छन्।
अस्पतालका अनुसार लम्कीचुहा नगरपालिकाबाट मात्र १६२ जना उपचारका लागि टीकापुर आउने गरेका छन्। सेन्टरबाट कैलालीका नौ स्थानीय तहका साथै बर्दिया र सुर्खेतका बिरामीले पनि सेवा लिइरहेका छन्।
अस्पतालमा कार्यरत एड्स हेल्थ केयर फाउन्डेसन (एएचएफ) नेपालका काउन्सिलर मीनबहादुर बोहराका अनुसार सामाजिक विभेदकै कारण धेरै सङ्क्रमितले आफ्नो बसोबासभन्दा बाहिरका अस्पतालमा उपचार गराउने गरेका छन्। टीकापुरका केही बिरामी धनगढी र लम्कीचुहा पुगेर सेवा लिने गरेका छन् भने अन्य पालिकाका बिरामी टीकापुर आउने गरेका छन्।
सन् २०१२ देखि सञ्चालनमा रहेको एएचएफ नेपालको सहयोगमा सञ्चालित सेन्टरले एचआइभी परीक्षण, उपचार, परामर्श र हेरचाहका साथै बिरामीलाई विभिन्न सहयोगसमेत उपलब्ध गराउँदै आएको छ।
चालु आर्थिक वर्षमा संस्थाले उपचारका लागि यात्रा गर्नुपर्ने ८३५ जनालाई यातायात खर्च, ३१६ जनालाई पोषण सहयोग, स्वास्थ्य बिमाबाट नसमेटिएका औषधि खरिदका लागि २०१ जनालाई आर्थिक सहयोग तथा १२ जनालाई आकस्मिक उपचारमा सहयोग गरेको जनाएको छ। साथै, सबै सङ्क्रमितलाई स्वास्थ्य बिमामा आबद्ध गराउने, नियमित औषधि सेवनको निगरानी गर्ने र भाइरल लोड परीक्षणमा सहजीकरण गर्ने कामसमेत भइरहेको छ।
सेन्टरबाट सेवा लिनेमध्ये टीकापुरका १३९, लम्कीचुहाका १६२, जानकीका ८१, बर्दगोरियाका ५२, मोहन्यालका ४४, जोशीपुरका ३३, भजनीका १८, घोडाघोडीका १८, धनगढीका एक, बर्दियाका नौ र सुर्खेतका एक जना रहेका छन्।
एचआइभी सङ्क्रमितले पोषण र नियमित आम्दानीको समस्या अझै भोगिरहेका छन्। केही स्थानीय तहले पोषण सहयोग उपलब्ध गराए पनि त्यो पर्याप्त नभएको उनीहरूको भनाइ छ।
मोहन्याल गाउँपालिकाकी ६८ वर्षीया एक महिलाले श्रीमानको निधनपछि आम्दानीको स्रोत नभएकाले दैनिक गुजारा चलाउनसमेत कठिनाइ भइरहेको बताउनुभयो। “सामाजिक सुरक्षा भत्ताले मात्र पुग्दैन, पोषणका लागि पनि नियमित सहयोग आवश्यक छ,” उहाँले भन्नुभयो।
इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख तारानाथ पनेरुले एआरटी सेन्टरले उपचार र बिरामीको हकहितका क्षेत्रमा प्रभावकारी काम गरिरहेको उल्लेख गर्दै समुदायस्तरमा रोग पहिचान र उपचारमा पहुँच बढाउन स्थानीय तह, सङ्घसंस्था तथा सरोकारवालाबीच थप समन्वय आवश्यक रहेको बताउनुभयो।
एक्सप्रेस
सम्बन्धित खबर
राजमार्गले चोला फेर्यो, हर्षले सास्ती बिर्सायो
एमालेमा हलचल, तर खुल्न डर
अर्थतन्त्रको गाँठो फुकाउन विस्तारकारी मौद्रिक नीति
सरकारी अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मत गर्न राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य
काठमाडौं । सरकारी अस्पतालहरूमा बिग्रिएर प्रयोगविहीन बनेका स्वास्थ्य उपकरणहरूको मर्मत तथा पुनः सञ्चालनका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले महावीर पुन नेतृत्वको राष्ट्रिय आविष...


