मङ्गल, ०३ चैत २०८२

धरानमा अत्याधुनिक ‘स्मार्ट बसपार्क’ सञ्चालनमा, सार्वजनिक यातायात अब थप व्यवस्थित हुने अपेक्षा

Main News Image

धरान, असार १३धरान उपमहानगरपालिका – ८ मा निर्माण गरिएको अत्याधुनिक ‘स्मार्ट बसपार्क’ शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले विशेष कार्यक्रमबीच बसपार्कको उद्घाटन गर्दै यसले धरानको सार्वजनिक यातायात व्यवस्थापनलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

संघीय सरकार र धरान उपमहानगरपालिकाको ५०–५० प्रतिशत लगानीमा करिब एक बिघा सात कट्ठा क्षेत्रफलमा निर्माण गरिएको यो आयोजना सुरुमा ३३ करोड ७० लाख ४७ हजार ३३७ रुपैयाँ लागत अनुमान गरिएको थियो। निर्माणको जिम्मा बिकोइ गीताञ्जली जेभी, दुहबी–सुनसरीले पाएको थियो। २०७८ असार ३० गते २५ करोड ४१ लाख ६७ हजार ३१९ रुपैयाँमा ठेक्का सम्झौता भई निर्माण सुरु भएको परियोजना अन्ततः २४ करोड ८६ लाख ९ हजार १४८ रुपैयाँमा सम्पन्न भएको योजना शाखाका इञ्जिनियर प्रकाश शर्माले जानकारी दिनुभयो।

नयाँ बसपार्कमा एकैपटक ३८ वटा ठूला बस र १८ वटा जिप पार्किङ गर्न सकिने व्यवस्था छ। बेसमेन्टमा ७२ वटा मोटरसाइकल, ६० वटा अटो रिक्सा तथा केही कार र जिप पार्किङ गर्न मिल्ने सुविधा पनि उपलब्ध छ।

यात्रुको सुविधालाई प्राथमिकता दिँदै करिब ३०० जना अट्ने आधुनिक प्रतीक्षालय, टिकट काउन्टर, एटीएम बुथ, सिसिटिभी निगरानी, सुरक्षा कक्ष, सार्वजनिक शौचालय, प्राथमिक उपचार कक्ष, मिनीमार्ट तथा २२ वटा अटो अट्ने छुट्टै स्टेसन निर्माण गरिएको छ। भवनको पहिलो तलामा १८ वटा व्यावसायिक सटर पनि रहेका छन्।

उद्घाटन समारोहमा कार्यवाहक नगरप्रमुख बेघाले पुरानो बसपार्कको साँघुरोपनका कारण हुने भीडभाड, ट्राफिक जाम र यात्रुले भोग्दै आएका असुविधा अब धेरै हदसम्म अन्त्य हुने बताउनुभयो। उहाँले बसपार्कको व्यवस्थापनलाई आगामी दिनमा अझ प्रभावकारी र यात्रुमैत्री बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

पूर्वउपप्रमुख मञ्जु भण्डारीले पनि लामो समयदेखि धरानमा व्यवस्थित बसपार्कको अभावले यात्रु र यातायात व्यवसायी दुवैले समस्या झेल्नुपरेको उल्लेख गर्दै नयाँ स्मार्ट बसपार्क धरानको गौरवको आयोजना भएको बताउनुभयो। उहाँका अनुसार यसले सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउनुका साथै दुर्घटनाको जोखिम घटाउन र यात्रुलाई आधुनिक सेवा उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्नेछ।

 

सम्बन्धित खबर

सुर्खेतमा टिपरको ठक्करबाट २३ वर्षीय युवाको मृत्यु, चालक पक्राउ

रेसुङ्गा–६ मा भीषण आगलागी, सुरक्षाकर्मी र स्थानीयको प्रयासमा ठूलो क्षति टर्‍यो

गुलमी । गुल्मीको रेसुङ्गा नगरपालिका–६ अन्तर्गत छाप र नेटाखर्क क्षेत्रमा भीषण आगलागी भएको छ । आगलागीका कारण स्थानीयवासी त्रसित बनेका थिए भने बस्तीमा क्षति पुग्ने जोखिम बढेको थियो ।

आगो नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल गुल्मीबाट खटिएको...

यथार्थ बजेटतर्फ गण्डकी सरकार, आकार घट्दै कार्यान्वयनमा जोड

गण्डकी प्रदेश सरकार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारी...