स्थानीय लहिनो गाई जोगाउन मदानेको पहल, किसानलाई प्रतिगाई वार्षिक दुई हजार रुपैयाँ प्रोत्साहन
गुल्मी, १३ असार — गाउँघरमा एक समय प्रत्येक गोठमा देखिने स्थानीय लहिनो जातका गाई अहिले विस्तारै लोप हुने अवस्थामा पुगेका छन्। दूध बढी दिने उन्नत जातका गाईपालनतर्फ किसान आकर्षित भएपछि स्थानीय गाई पाल्ने परम्परा कमजोर बन्दै गएको छ।
यही अवस्थालाई मध्यनजर गर्दै गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङले स्थानीय लहिनो गाई संरक्षणका लागि नयाँ कार्यक्रम सुरु गरेको छ। वडाले स्थानीय जातका गाई पाल्ने किसानलाई प्रतिगाई वार्षिक दुई हजार रुपैयाँ स्याहार भत्ता उपलब्ध गराउन थालेको हो।
वडाध्यक्ष सुशील चन्दका अनुसार गाउँबाट हराउँदै गएको स्थानीय गाईको संरक्षण गर्दै किसानलाई पुनः यसको पालनतर्फ आकर्षित गर्ने उद्देश्यले यो योजना लागू गरिएको हो। उहाँले स्थानीय गाईको अभावले धार्मिक संस्कार, संस्कृति तथा कृषि प्रणालीमा समेत प्रत्यक्ष असर पर्न थालेको बताउनुभयो।
पहिले मृत्यु संस्कारमा पुरोहितलाई लहिनो गाई दान गर्ने परम्परा रहे पनि अहिले गाईको अभावका कारण त्यसको सट्टा नगद दिने चलन बढ्दै गएको उहाँको भनाइ छ। धार्मिक कार्यमा आवश्यक पर्ने गोबर र गौमूत्रसमेत सहज रूपमा नपाइने अवस्था सिर्जना भएको भन्दै उहाँले स्थानीय गाई संरक्षणको आवश्यकता झन् बढेको उल्लेख गर्नुभयो।
स्थानीय किसान नरबहादुर विष्टले वडाले उपलब्ध गराएको स्याहार भत्ताले गाई संरक्षणमा केही भए पनि उत्साह थपिएको बताउनुभयो। "पहिले हरेक घरमा गाई हुन्थ्यो, अहिले गाउँभरि गोठ खाली देखिन्छन्। गोबर र गौमूत्रका लागि समेत टाढासम्म जानुपर्ने अवस्था छ," उहाँले भन्नुभयो।
स्थानीय गाई दूध उत्पादनका लागि मात्र नभई जैविक खेती, धार्मिक आस्था र ग्रामीण जीवनशैलीसँग समेत गहिरो रूपमा जोडिएको जानकारहरू बताउँछन्। हिन्दू परम्परामा गाईलाई लक्ष्मीको प्रतीक मानी पूजा गर्ने प्रचलन रहेको छ भने जन्मदेखि मृत्युसम्मका विभिन्न संस्कारमा गाईबाट प्राप्त वस्तुको प्रयोग गरिन्छ।
वडाध्यक्ष चन्दका अनुसार स्थानीय समुदाय तथा पाका पुस्ताको मागलाई सम्बोधन गर्दै संरक्षण अभियान सुरु गरिएको हो। "गाई हाम्रो मौलिक सम्पत्ति हो। यसको संरक्षणका लागि किसानलाई प्रोत्साहनस्वरूप स्याहार भत्ता दिएका छौँ। आगामी वर्षहरूमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने योजना छ," उहाँले बताउनुभयो।
स्थानीय राधा कुँवरका अनुसार यस्तो कार्यक्रमले किसानलाई आर्थिक सहयोग मात्र होइन, हराउँदै गएको संस्कृति, परम्परा र मौलिक सम्पदाको संरक्षणमा समेत महत्वपूर्ण योगदान पुर्याउनेछ। उहाँले स्थानीय गाईको संरक्षण र प्रवर्द्धनका लागि सबै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो।
एक्सप्रेस
सम्बन्धित खबर
विवाद चर्किएपछि एमालेले फिर्ता गर्यो मीनबहादुरको जग्गा प्रस्ताव
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले व्यवसायी मीनबहादुर गुरूङ बाट प्राप्त जग्गा सहयोगको प्रस्ताव धन्यवादसहित फिर्ता गर्ने तयारी गरेको छ। सोमबार बसेको सचिवालय...
भारत भ्रमणमा रहेका रवि लामिछानेको आज भाजपा नेतृत्वसँग उच्चस्तरीय राजनीतिक संवाद
काठमाडौँ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले आज भारतीय जनता पार्टी (भाजपा)का शीर्ष नेताहरूसँग महत्वपूर्ण राजनीतिक भेटवार्ता गर्ने कार्य...
२० वर्ष पुगेका अविवाहित छोरीका अभिभावकलाई सम्मान, धनौजीको नयाँ नीति
पहिरोका कारण मेची राजमार्ग अवरुद्ध, यात्रु अलपत्र
फिक्कल (इलाम), १४ असारः लगातारको वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ।
इलाम नगरपालिका–९ स्थित माईखोलामा सडकमाथिबाट लेदोसहितको पहिरो खसेपछि सडक पूर्ण रूप...
एमालेमा हलचल, तर खुल्न डर
आफू एमालेको राजनीतिमा फर्कने घोषणा गर्दा हलले गरेको साथ देखेर उत्साहित पूर्वराष्ट्रपति भण्डारीले मदनकै शब्द सापटी लिएर केही संकल्प पनि गरेकी छन् ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रुपमा पुन: जोडिएको छु, र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत...



