मङ्गल, ०३ चैत २०८२

एमाले सचिवालयमा ओली दबाबमा, पुनर्गठनको बहसले बैठक ततायो

Main News Image

काठमाडौं । चार दिनसम्म चलेको नेकपा एमाले सचिवालय बैठक अन्ततः संगठन पुनर्गठन र निर्वाचन समीक्षा केन्द्रित निर्णयसहित सम्पन्न भएको छ । आइतबार झण्डै नौ घण्टा चलेको बैठकले पार्टीभित्र देखिएको असन्तुष्टि, नेतृत्वमाथिको दबाब र आगामी रणनीतिबारे स्पष्ट संकेत दिएको छ ।

बैठकले निर्वाचन परिणामको समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव तयार गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ । साथै असार दोस्रो साता केन्द्रीय कमिटी बैठक बोलाउने, सरकारका केही गतिविधिप्रति असन्तुष्टि जनाउने र संगठनात्मक कामलाई व्यवस्थित बनाउन नेताहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय पनि गरिएको छ ।

उपमहासचिव लेखराज भट्टका अनुसार, कलंकीस्थित पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले गरेको प्रस्ताव फिर्ता गर्ने निर्णयसमेत बैठकले गरेको छ । नेताहरूको कार्यविभाजन संशोधन गर्ने विषय पनि टुंगो लगाइएको उनले बताए ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरणसँगै सुरु भएको बैठकलाई एमाले वृत्तमात्र होइन, राष्ट्रिय राजनीतिले पनि विशेष चासोका साथ हेरिरहेको थियो । २१ फागुनको निर्वाचनमा एमालेले अपेक्षाअनुसार परिणाम ल्याउन नसकेपछि पहिलोपटक औपचारिक समीक्षा बैठक बसेकाले यसको राजनीतिक महत्व बढेको हो ।

बैठकको सुरुदेखि नै नेतृत्व पुनर्गठनको विषय प्रमुख रूपमा उठ्यो । अध्यक्ष केपी शर्मा ओलीका निकट मानिने नेताहरूले समेत पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने धारणा राखे । दोस्रो दिनको छलफलमा पाँच उपाध्यक्षमध्ये रामबहादुर थापाबाहेक अन्य नेताहरू पुनर्गठनको पक्षमा खुलेका थिए ।

गठित कार्यदलभित्र पनि ओली पक्ष कमजोर देखिएको विश्लेषण गरिएको छ । संयोजक थापा र सचिव महेश बस्नेतबाहेक ओलीलाई साथ दिन सक्ने सम्भावित नेताका रूपमा लेखराज भट्टलाई हेरिएको छ । अन्य प्रभावशाली नेताहरू भने पार्टी नेतृत्व र संरचनामा परिवर्तन आवश्यक रहेको पक्षमा उभिएका छन् ।

स्रोतहरूका अनुसार, यही कारण ओली कार्यदल गठनप्रति सुरुदेखि नै सहज थिएनन् । उनले समीक्षा तल्ला कमिटीहरूको कमजोरी वा बाह्य प्रभावतर्फ केन्द्रित होस् भन्ने चाहना राखेका थिए । तर सचिवालयमा बहुमत पुनर्गठन पक्षमा देखिएपछि निर्णय त्यसैअनुसार अघि बढेको बताइन्छ ।

एमालेभित्रको एउटा ठूलो पंक्तिले भने चुनावी पराजयको नैतिक जिम्मेवारी लिएर ओलीले पद छाड्नुपर्ने मत राखेको थियो । पदाधिकारी तहका नेताहरू र कार्यकर्तामाझ पनि यस्तो आवाज सुनिएको थियो । तर ओलीले नेतृत्व नछोड्ने संकेत दिएका छन् ।

एमाले इतिहासमा भने चुनावी हारपछि नेतृत्व परिवर्तनको उदाहरण यसअघि देखिएको थियो । ०६४ सालको निर्वाचनमा पराजयपछि माधवकुमार नेपालले नैतिक जिम्मेवारी स्वीकार्दै पदबाट अलग हुने निर्णय गरेका थिए । यसपटक भने ओलीले त्यस मार्ग रोज्ने संकेत दिएका छैनन् ।

 

सम्बन्धित खबर

फरार अभियुक्त पासाङ शेर्पाको संरक्षणले एमाले गम्भीर संकटमा

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पामाथि बहुविवाह, मानव तस्करी, ठगी र चेक बाउन्सजस्ता गम्भीर आपराधिक मुद्दा विचाराधीन अवस्थामा रहेका छन् । अदालतले बहुविवाह प्रकरणमा उनलाई एक वर्ष कैद र पाँच हजार रुपैया...

केशव बडालले पनि त्यागे एमालेको सक्रिय राजनीति

काठमाडौँ । नेकपा एमाले अनुशासन आयोगका अध्यक्ष केशव बडालले पार्टीका कुनै पनि पदमा नबस्ने घोषणा गरेका छन् । आइतबार सुरु भएको एमालेको बन्दसत्रमा उनले महाधिवेशनबाट पार्टीको कुनै पनि पदमा नबस्ने निर्णय घोषणा गरेका हुन् । उन...

भदौ २३ का घटनाको जिम्मेवार केपी ओली : ईश्वर पोखरेल

काठमाडौँ । नेकपा एमालेका नेता ईश्वर पोखरेलले भदौ २३ गतेको घटनाको मुख्य जिम्मेवार पार्टी अध्यक्ष केपी ओली नै भएको दाबी गरेका छन् । कार्की बैंक्वेटमा जारी आफ्नो प्यानलको धन्यवाद भेलालाई सम्बोधन गर्दै पोखरेलले भने, हामी विभाजन अस्वीकार गर्छौँ तर आत्म...

कोप-३० मा नेपालले ९ एजेण्डा प्रस्तुत गर्ने तयारी

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३० औँ सम्मेलन कोप–३० को मिति नजिकिएसँगै नेपालले तयारी तीव्र बनाएको छ । कोप–३० आगामी नोभेम्बर १० देखि २१ तारिख आगा...

यात्रा टुगिँदै गर्दा हामी एक हिसाबले खुशी नै छौं : रामकुमारी झाँक्री

काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले सो पार्टीसँगको राजनीतिक यात्रा समाप्त भएको घोषणा गरेकी छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै झाँक्रीले माओवादीसँग एकता गरेसँगै एकीकृत समाजवादी बिघटन भ...

निर्वाचन आउन ७६ दिन बाँकी : जनसंख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ । समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसंख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ। त्यसका लागि मन्त्रिपरिषद्ले अध्यादेश पारित गरी जारी गर्न राष्ट्रपतिसमक्ष पेस गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा भ...