मङ्गल, ०३ चैत २०८२

कोरियाबाट फर्किएका शिवकुमारको सफलता: ६० लाखको कृषि लगानीले गाउँमै रोजगारी र आशा

Main News Image

पर्वत, १४ असारवैदेशिक रोजगारीबाट फर्किएपछि अधिकांश युवाले पुनः विदेश जाने सोच बनाइरहेका बेला पर्वतको बिहादी गाउँपालिका–बाच्छाका ४० वर्षीय शिवकुमार क्षेत्रीले भने गाउँमै सम्भावना देख्नुभयो। १२ वर्ष साउदी र दक्षिण कोरियामा बिताएर फर्किएका उहाँ अहिले ६० लाख रुपैयाँभन्दा बढी लगानीमा आधुनिक कृषि व्यवसाय सञ्चालन गर्दै स्वदेशमै सफल उद्यमीका रूपमा परिचित बन्नुभएको छ।

क्षेत्रीले करिब ९० रोपनी क्षेत्रफलमा दर्ता गरिएको एसके कृषि फार्ममार्फत व्यावसायिक तरकारी खेती, फलफूल उत्पादन तथा गाईभैँसीपालन गर्दै आउनुभएको छ। फार्ममा आधुनिक सिँचाइ प्रणाली, टनेल खेती र कृषि उपकरणको प्रयोग गरिएको छ। उहाँले आलु, टमाटर, काँक्रा, अदुवा, कागतीलगायत मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आउनुभएको छ।

"सुरुमा धेरैले कृषि गरेर केही हुँदैन, विदेश नै गएको राम्रो भनेका थिए," क्षेत्री भन्नुहुन्छ, "तर मेहनत, योजना र आधुनिक प्रविधिको प्रयोग गर्न सके कृषि नै सम्मानजनक आम्दानीको आधार बन्न सक्छ।"

क्षेत्रीका अनुसार फार्मबाट वार्षिक करिब ५० लाख रुपैयाँसम्मको कारोबार हुँदै आएको छ। तरकारीसँगै भक्तपुरे जातको स्थानीय काँक्राको बीउ उत्पादन र बिक्री पनि उहाँको मुख्य आम्दानीको स्रोत बनेको छ।

उहाँ अध्यक्ष रहेको बाच्छाको सिर्जनशील कृषक समूहले यस वर्ष एक हजार ४०० किलो काँक्राको बीउ उत्पादन गरेको छ। ३२ सदस्य आबद्ध उक्त समूहले गत वर्ष प्रतिकिलो ६ हजार रुपैयाँका दरले बीउ बिक्री गरेको थियो। सोही मूल्यका आधारमा यस वर्षको उत्पादनको मूल्य मात्रै ८० लाख रुपैयाँभन्दा बढी पुग्ने अनुमान गरिएको छ।

क्षेत्रीले ४५ रोपनी क्षेत्रफलमा बीउ उत्पादनका लागि काँक्रा खेती गर्दै करिब ९० किलो बीउ उत्पादन गरिरहनुभएको छ। आगामी दिनमा लोकल कुखुरा र हाँसपालनसमेत सुरु गर्ने तयारीमा रहेको उहाँको योजना छ।

यद्यपि, कृषि विस्तारका क्रममा सहज कृषि ऋण नपाउनु ठूलो चुनौती बनेको उहाँ बताउनुहुन्छ। कृषि विकास बैंकले अन्तिम चरणमा फार्मसम्म पक्की सडक नपुगेको भन्दै ऋण अस्वीकार गरेको अनुभव सुनाउँदै उहाँले किसानका लागि सहुलियतपूर्ण ऋण व्यवस्थालाई प्रभावकारी बनाउन सरकार र स्थानीय तहले विशेष पहल गर्नुपर्ने धारणा राख्नुभयो।

"कृषिमा अझै धेरै सम्भावना छन्। विदेशमा भन्दा गाउँमै अवसर खोज्न सकिन्छ," उहाँको भनाइ छ। पर्याप्त उत्पादन गर्न सके बजार र मूल्यको अभाव नहुने अनुभव पनि उहाँले सुनाउनुभयो।

बिहादी गाउँपालिकाका कृषि शाखाका प्राविधिक जीवन शाहीका अनुसार क्षेत्रीको सफलताले स्थानीय युवामा व्यावसायिक कृषिप्रति आकर्षण बढाएको छ। उर्वर भूमि, आधुनिक सोच र प्रविधिको संयोजनले गाउँको कृषि क्षेत्रलाई थप व्यावसायिक बनाउन सकिने उहाँको विश्वास छ।

यस्तै, जिल्ला कृषि विकास कार्यालयका प्रमुख गोपाल लामिछानेले लोकमार्ग केन्द्रित कृषि उत्पादन तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत यस वर्ष क्षेत्रीलाई एक लाख ५५ हजार रुपैयाँ अनुदान प्रदान गरिएको जानकारी दिनुभयो। युवा कृषकलाई प्रोत्साहन गर्ने सरकारी नीतिसँगै आधुनिक प्रविधि, बजार पहुँच र सहुलियतले कृषि क्षेत्रमा नयाँ सम्भावना सिर्जना गरिरहेको उहाँले बताउनुभयो।