मङ्गल, ०३ चैत २०८२

पूर्वाधार र प्रचारको पर्खाइमा म्याग्दीको धार्मिक–पर्यटकीय गन्तव्य ‘भंकासे’

Main News Image

म्याग्दी, १५ असारः म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतस्थित भंकासे प्राकृतिक सौन्दर्य, धार्मिक महत्व र मनोरम हिमाली दृश्यका कारण आकर्षक पर्यटकीय गन्तव्य भए पनि पर्याप्त पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ।

समुद्री सतहबाट करिब दुई हजार ६०० मिटर उचाइमा रहेको भंकासे चारैतिर घना जङ्गलले घेरिएको समथर स्थल हो। यहाँबाट धौलागिरि, नीलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमशृङ्खलासहित म्याग्दीका अधिकांश भूभाग अवलोकन गर्न सकिन्छ।

स्थानीय लोकबहादुर पुनका अनुसार पहाड भासिएर ठूलो भ्वाङ बनेपछि त्यसैको अपभ्रंश हुँदै यस स्थानको नाम ‘भंकासे’ रहन गएको जनविश्वास छ। यहाँ पहाड भासिएर बनेको ओडारसहित करिब १० रोपनी समथर खुला जमिन रहेको छ।

भंकासेदेखि करिब २०० मिटर तल रहेको सिद्धथान धार्मिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ। परापूर्वकालमा ऋषिमुनिहरुले तपस्या गरेको विश्वास गरिने यस स्थानमा अहिले मन्दिर, धर्मशाला र आश्रम छन्। देशका विभिन्न स्थानबाट साधुसन्त ध्यान र तपस्याका लागि यहाँ आउने गरेका छन्। सिन्धुपाल्चोकबाट आएका तपस्वी रुपचन्द्र विगत १२ वर्षदेखि विश्वशान्ति र विकृतिमुक्त समाजको कामनासहित यहाँ तपस्यारत हुनुहुन्छ।

वाखेत गाउँबाट करिब ३० मिनेट पैदल हिँडेपछि सिद्धथान र त्यहाँबाट थप १५ मिनेट उकालो चढेर भंकासे पुग्न सकिन्छ। पर्यटकीय स्थल टोड्केबाट पनि करिब ४० मिनेटको पैदल यात्रापछि भंकासे पुगिने व्यवस्था छ।

बेनी नगरपालिकाले ‘एक वडा, एक पर्यटन परियोजना’अन्तर्गत सिद्धथान र भंकासेलाई आरोग्य पर्यटनका रूपमा विकास गर्ने योजना अघि बढाएको छ। वडाध्यक्ष मसविर रोकाका अनुसार वाखेत–सिद्धथान–भंकासे पदमार्ग तथा सडक निर्माण गरिएको छ भने यस क्षेत्रको ऐतिहासिक तथ्य संकलनका लागि धर्मगुरुमार्फत अनुसन्धानसमेत सुरु गरिएको छ।

सम्बन्धित खबर

हात्तीको आतङ्कले बाहुनडाँगी त्रसित, रोपाइँभन्दा ज्यान जोगाउने चिन्ता

झापा, १५ असारः असार महिना किसानका लागि वर्षभरि खाने अन्नबाली उत्पादन गर्ने महत्वपूर्ण समय हो । तर झापाको मेचीनगर–४ बाहुनडाँगीका बासिन्दा यतिबेला रोपाइँको चटारोभन्दा ज्यान र धन जोगाउने चिन्ताले त्रसित बनेका छन् ।

भा...

कोरियाबाट फर्किएका शिवकुमारको सफलता: ६० लाखको कृषि लगानीले गाउँमै रोजगारी र आशा

हिलेजात्रा: पनौतीको संस्कृति, कृषि र आस्थालाई जोड्ने जीवित परम्परा

कम्पनी दर्ता नं :- २८८४५९ / ०७८ / ०७९
सूचना तथा प्रसारण विभाग दर्ता नं :- +९७७९८५१२०५२४०
प्रेस काउन्सिल सूचीकरण नं :-+९७७९८५१२०५२४०
विज्ञापन बोर्ड सूचीकरण नं :- +९७७९८५१२०५२४०