हात्तीको आतङ्कले बाहुनडाँगी त्रसित, रोपाइँभन्दा ज्यान जोगाउने चिन्ता
झापा, १५ असारः असार महिना किसानका लागि वर्षभरि खाने अन्नबाली उत्पादन गर्ने महत्वपूर्ण समय हो । तर झापाको मेचीनगर–४ बाहुनडाँगीका बासिन्दा यतिबेला रोपाइँको चटारोभन्दा ज्यान र धन जोगाउने चिन्ताले त्रसित बनेका छन् ।
भारततर्फबाट छावासहित आउने जङ्गली हात्तीका बथान गाउँमै दिनभर बस्न थालेपछि स्थानीयवासी डरको वातावरणमा बाँच्न बाध्य भएका छन् । दैनिक ४० देखि ५० वटासम्म हात्ती आउने गरेका छन् । तीमध्ये केही बथान भारत फर्किने गरे पनि कतिपय दिनभर बाहुनडाँगीका चियाबारी र झाडीमा बस्ने गरेका छन् । छावासहितका हात्ती बढी आक्रामक हुने भएकाले कुनै पनि बेला अप्रिय घटना हुन सक्ने स्थानीयवासीको चिन्ता छ ।
हात्तीको आतङ्कका कारण अभिभावकले आफ्ना बालबालिकालाई विद्यालय पठाउनसमेत कठिनाइ भएको बताएका छन् । बाटोमै हात्ती भेटिने डरले बालबालिकाको पढाइ प्रभावित भएको छ भने किसानहरू धान रोपाइँ छाडेर दिनभर हात्ती धपाउन बाध्य छन् ।
स्थानीय युवा, गाउँले तथा प्रहरी प्रशासनको टोलीले साइरन बजाएर र विभिन्न उपाय अपनाएर चियाबारी तथा बस्ती नजिक रहेका हात्तीलाई सुरक्षित स्थानतर्फ धपाउने प्रयास गरिरहेका छन् । तर यस्तो प्रयास दीर्घकालीन समाधान बन्न नसकेको स्थानीयवासीको भनाइ छ ।
मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले स्थानीय सरकार, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली नागरिक सुरक्षाका लागि निरन्तर खटिएको बताउनुभयो । उहाँले स्थानीय तहको प्रयासले मात्र समस्या समाधान नहुने भन्दै सङ्घीय सरकारबाट ठोस पहल आवश्यक रहेको उल्लेख गर्नुभयो ।
लामो समयदेखि समस्या भोग्दै आएका स्थानीयवासी नीलकण्ठ तिवारीले धनजनको सुरक्षाका लागि प्रधानमन्त्रीसमक्ष समेत ज्ञापनपत्र बुझाइएको भए पनि प्रभावकारी सुनुवाइ नभएको गुनासो गर्नुभयो ।
बाहुनडाँगी क्षेत्रमा हात्ती र मानवबीचको द्वन्द्व दशकौँ पुरानो हो । भारतको आसाम र पश्चिम बङ्गालदेखि नेपालको कोशीटप्पु वन्यजन्तु आरक्षसम्म फैलिएको प्राकृतिक हात्ती करिडोर मानव बस्ती विस्तार र वन फँडानीका कारण प्रभावित भएपछि हात्ती गाउँ पस्न थालेका हुन् ।
हात्ती रोक्न सीमा क्षेत्रमा निर्माण गरिएको विद्युतीय तारबार (फेन्सिङ) धेरै स्थानमा जीर्ण बनेको छ । हात्तीहरूले रुखका हाँगाले तार थिच्ने वा पोल ढालेर नयाँ बाटो बनाउँदै गाउँ प्रवेश गर्ने गरेका छन् । वन क्षेत्रमा पर्याप्त आहारा नहुनु तथा गाउँमा सञ्चित अन्नबाली र खेतबारीमा उपलब्ध खाद्य स्रोतका कारण पनि हात्ती मानव बस्ती नजिक आउने गरेका छन् ।
स्थानीयवासीले समस्या समाधानका लागि नेपाल र भारतबीच सीमापार समन्वय गरी हात्तीको परम्परागत करिडोर व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । साथै, फेन्सिङको मर्मत, प्रभावित क्षेत्रमा सुरक्षा सतर्कता वृद्धि तथा किसानलाई उचित क्षतिपूर्ति व्यवस्था गर्नुपर्ने मागसमेत गरेका छन् । स्थानीय तहका अनुसार यस्ता कदम तत्काल नचालिए बाहुनडाँगी क्षेत्रमा मानवीय तथा आर्थिक क्षति थप बढ्न सक्ने जोखिम रहेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
हिलेजात्रा: पनौतीको संस्कृति, कृषि र आस्थालाई जोड्ने जीवित परम्परा
कोरियाबाट फर्किएका शिवकुमारको सफलता: ६० लाखको कृषि लगानीले गाउँमै रोजगारी र आशा
पूर्वाधार र प्रचारको पर्खाइमा म्याग्दीको धार्मिक–पर्यटकीय गन्तव्य ‘भंकासे’
म्याग्दी, १५ असारः म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतस्थित भंकासे प्राकृतिक सौन्दर्य, धार्मिक महत्व र मनोरम हिमाली दृश्यका कारण आकर्षक पर्यटकीय गन्तव्य भए पनि पर्याप्त पूर्वाधार र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ।



